असार २७ काठमाडौं । नेकपा एमाले पार्टीको स्थायी कमिटीको बैठक आज साँझ ४ बजे बस्ने भएको छ ।
एमालेभित्रको विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समितिको बैठक बोलाएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलको बैठक जारी रहेको बेला ओली पक्षले बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
यसअघि, कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए । मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका हुन् । नेपालले असहमति जनाएपछि सहमतिका लागि कार्यदल सदस्यहरु पुन: छलफलमा जुटेका छन् ।