असोज १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्नि सापकोटाको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले अनुसन्धानको प्रगति विवरण पेश गर्न आदेश दिएको छ । २०७२ बैशाख ८ गतेको परमादेशको आदेशबमोजिम १५–१५ दिनमा जाहेर गर्नुपर्ने अनुसन्धानको प्रगति विवरण उद्यावधिक नभएको भन्दै संवैधानिक इजलासले यस्तो आदेश गरेको हो ।
‘…अदालतको अन्तरिम आदेशपश्चात हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन ? नभएको भए के कारणबाट हुन नसकेको हो ? साथै यस सन्दर्भमा पूर्वादेशअनुसार नियमित रुपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट नदेखिएको हुँदा सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेशीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि अगाउका निवेदनहरु समेत साथै राखी नियमानुसार पेश गर्नू’ आदेशमा भनिएको छ ।
आफ्ना पति अर्जुन लामाको हत्यामा संलग्न माओवादी नेता सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउनु पर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले ८ मंसिर, २०६९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । १२ वर्षको अवधिमा उनको मुद्दा हेरेका आठ जना न्यायाधीश प्रधानन्यायाधीश भइसकेका छन् । सुनुवाइ भएर पनि पटक पटक सरेको मुद्दाको फैसला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश हुने बेलामा अनिश्चित बनेको हो ।