जेठ ६, काठमााडौं । अर्थमन्त्री विष्णु पौडेल संयोक रहेको गभर्नर सिफारिस समितिले गभर्नरमा ३ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।
समितिले गभर्नरमा डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिना, डा. विश्व पौडेल र दिनेश भट्टराईको नाम सिफारिस गरेको हो । डा. पौडेललाई पहिलो नम्बरमा राखिएको छ । अबको केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले समितिको सिफारिस अनुसार एक जनालाई गभर्नर नियुक्ति गर्नेछ ।
सत्तारुढ कांग्रेसको कोटाबाट पौडेललाई गभर्नर नियुक्ति गर्ने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच आज दिउँसो भएको भेटमा नयाँ गभर्नरमा सहमति जुटेसँगै अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक राखेका थिए ।
डा. पौडेललाई गभर्नरमा नियुक्तमा सर्वोच्चले पनि बाटो खोलिदिएको छ । पौडेललाई गभर्नर बनाउन नहुने माग गर्दै परेको रिट दरपीठ गर्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० गते रिट दायर गरेका थिए । तर उक्त रिट सर्वोच्च अदालत प्रसाशनले यही जेठ २ गते दरपीठ गरेको थियो ।
उक्त आदेश बेरितको भन्दै अधिवक्ता द्वय उप्रेती र थापाले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश सपना प्रधान मल्लको इजलासले आज सुनुवाई गर्दै रिट दरपीठको आदेश सदर गरेको हो ।