जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि टुँडिखेलमा दोस्रो सीप मेला आयोजना गर्दैछ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नारासहित सीप मेला गर्न लागेको हो । एक महिनासम्म सञ्चालन हुने सीप मेलामा विभिन्न १० क्षेत्रका ४२ पेशासँग सम्बन्धित तालिम हुनेछ ।
महानगरपालिकाले सीप नजान्नेहरूलाई सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य राखेको छ । महानगरले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो ।
यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको महानगरले जानकारी दिएको छ । १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ ।
गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा पहिलो पटक ‘सीप मेला’ आयोजना गरिएको थियो । उक्त मेलाबाट तालिम लिनका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएको भए पनि दुई हजार ५७५ जनालाई तालिम प्रदान गरिएको थियो । तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरिसकेको महानगरको दावी छ ।