पाँच संसदीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ७, बुधबार (५ घण्टा अघि)
  • ३४ पटक पढिएको
पाँच संसदीय समितिको बैठक बस्दै

जेठ ७, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषयविज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ । यस्तै महिला तथा सामाजिक मामिला समितिको बिहान साढे ७ बजे बस्ने बैठक मा दुईवटा उपसमितिले तयार पारेका प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ ।

बिहान साढे ८ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल गर्ने कार्यसूची छ भने दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोराको जानकारी अध्यक्ष नारायाण दाहालले गर्नेछन् ।

बैठकमा पानी जहाज सञ्चालन तथा व्यवस्थापनं विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ । यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय, विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल हुनेछ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस