जेठ ६, काठमाडौं । विश्वभर तीव्र गतिमा फैलिँदै गएको मायोपिया (दृष्टिदोष) प्रति आम नागरिकलाई सचेत गराउन दृष्टि आई केयर सिस्टमले जेठ ५ देखि ११ गतेसम्म ‘मायोपिया जनचेतना सप्ताह’ को आयोजना गरेको छ ।
दृष्टि आई केयरले काठमाडौं, वीरगञ्ज र बिर्तामोडस्थित शाखाहरूबाट साप्ताहिक अभियान सञ्चालन हुने जनाएको छ । अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम, स्कुल स्क्रिनिङ शिविर र निःशुल्क आँखा परीक्षण सेवा प्रदान गरिनेछ ।
अभियानको मुख्य आकर्षणको रुपमा जेठ १० गते शनिबार विहान ७ बजे ती तीनै शाखाबाट एकैसाथ मायोपिया जनचेतना -याली निकालिने छ । -यालीमा आँखा स्वास्थ्यसँग सम्बन्धित संघसंस्था, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहने बताइएको छ ।
अभियानका दौरान सामुदायिक विद्यालयहरूमा स्कुल स्क्रिनिङ शिविरहरू सञ्चालन गरिने छन्, जसमा परीक्षण गरिएका विद्यार्थीहरूलाई दृष्टि आई केयरका सबै शाखाबाट निःशुल्क विस्तृत आँखाको परीक्षण सेवा प्रदान गरिने जनाइएको छ ।
१७ वर्षसम्मका विद्यार्थीहरूका लागि विशेष व्यवस्था गर्दै, दृष्टिले अग्रिम नाम दर्ता गराई आउने सबैलाई पूर्ण निःशुल्क सेवा दिने जानकारी दिएको छ । साथै, चस्मा तथा मायोपिया नियन्त्रणका विशेष लेन्सहरूमा छुट समेत उपलब्ध गराइनेछ ।
दृष्टिका कार्यकारी निर्देशक डा। भाईराजा श्रेष्ठले विश्व स्वास्थ्य संगठनको प्रक्षेपणअनुसार सन् २०५० सम्म विश्वको आधा जनसंख्या मायोपियाबाट प्रभावित हुनसक्ने भएकाले, समयमै रोकथाम र उपचारको आवश्यकता रहेको बताए । उनले दृष्टिको वेबसाइटमा उपलब्ध ‘मायोपिया जोखिम क्याल्कुलेटर’ मार्फत आफ्ना बालबालिकाको मायोपिया जोखिम आँकलन गर्न सकिने जानकारी पनि दिएका छन् ।
मायोपिया विशेषज्ञ दीपक घिमिरेले मायोपिया सामान्य दृष्टिदोष मात्र नभई दीर्घकालिन दृष्टि गुमाउने प्रमुख जोखिम बन्न थालेको भन्दै सचेतना अपरिहार्य रहेको बताए ।