बाढीपहिरोमा लापरवाही: धादिङ र काभ्रेका सीडीओ गृह मन्त्रालय तानिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १४, सोमबार (७ महिना अघि)
  • १२७ पटक पढिएको
बाढीपहिरोमा लापरवाही: धादिङ र काभ्रेका सीडीओ गृह मन्त्रालय तानिए

असोज १४,काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए । उनीहरुलाई गृहमन्त्रालयमा तानिएको छ ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको थियो ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।

यसैगरी धादिङ–काठमाडौं सडकखण्ड र काभ्रेतर्फ बीपी राजमार्ग खण्डमा क्षति पुग्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

असोज ११ र १२ गते दुई दिनको अवधिमा बाढी पहिरोका कारण बागमती, कोशी, काठमाडौं उपत्यका र मधेश प्रदेशमा गरी जम्मा १८८ जनाको मृत्यु भएको छ ।

 

ताजा अपडेट

१५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस