पौष ८, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति रहेको बताएका छन् । क्रियाशील सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनु पर्नेमा पनि उनले जोड दिए । आज (सोमबार) नेपाल कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो,’ उनले भने, ‘क्रियाशील सदस्यको संख्या धेरै छ । तर, क्रियाशील सदस्यहरूलाई सदस्यताको महत्व बुझाउन नसकेको हो कि ? अब बुझाउनु पर्याे ।’ हरेक क्रियाशील सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनको भनाइ थियो ।
देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको भन्दै उनले जनताको पटक–पटक विश्वास जितेको पार्टी कांग्रेसको क्रियाशील सदस्यता सामान्य विषय नभएको बताए । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उनले जोड दिए ।