असार ३२,भक्तपुर । भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिराका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए ।
डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ किराना र थोक पसल, एक एक सडक र पुल, दुई दुई अस्पताल र विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७ बंगुर र ८२५ कुखुरा बगाएको छ ।
उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करीव रु तीन करोड ९३ लाख ९५ हजार १२५, किराना र थोक पसलमा करीव रु चार करोड ४६ लाख १३ हजार, अस्पतालमा रु तीन करोड ४० लाख १६ हजार , मेरिगोल्ड इङ्गलिस स्कूल बालकोटमा रु तीन लाख, चौपाया र पशुपक्षीमा करीव रु १० लाख २६ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिए ।
प्रहरी परिचालन गरी संकलित क्षति विवरण सार्वजनिक गर्दै उहाँले सम्बन्धित नगरपालिकाबाट थप क्षति विवरण माग गरिएको र आउन बाँकी रहेको बताए । तथ्यांकानुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करीव रु तीन करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करीव रु छ करोड ९५ लाख १० हजार २५०, सूर्यविनायक नगरपालिकामा रु दुई करोड ७० लाख ९१ हजार र चाँगुनारायण नगरपालिकामा रु २३ लाख ९८ हजार बराबरको क्षति भएको छ । चाँगुनारायणको सुडालमा दुई पक्की र १३ कच्ची घर गरी करीव रु ५० लाख बराबरको क्षति भएको छ ।