बैशाख १५, काठमाडौँ । हुम्लाको दक्षिणी भेगमा अवस्थित ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालयले रोग निदान हुन नसके पनि मौसमी रुघाखोकीले मृत्यु भएको हुन सक्ने जनाएको छ।
मृत्यु हुनेमा ७६ वर्षीया उमकली मल्ल, ७० वर्षीया लालसरा रिठाल, ६० वर्षीय सुरजित खडका, ५५ वर्षीय लक्ष्य सुनार, ५५ वर्षीय बजिरी सुनार, ५५ वर्षीय वीरबल रिसाल, ५० वर्षीयरंगे कोली, ४ वर्षीया सुनकेसा सुनार र १० महिने रन्जती सुनार छन्।
चैत २६ देखि शनिबारसम्ममा उनीहरूको मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत तुलसीप्रसाद अधिकारीले बताए । उनका अनुसार दुई बालकको निमोनियाँ र झाडापखालाबाट मृत्यु भएको हो।
अन्य मृतक लामो समयदेखि दम तथा श्वासप्रश्वासका बिरामी र मौसमी रुघाखोकीको मारमा परेको उनको भनाइ छ ।
ताजाकोटको १ मा पर्ने जिमाना र काँडागाउँ तथा २ मा पर्ने मैला, तोलीबाडा र खटिकबाडामा प्रकोप बढी देखिएको छ । सुरुको चरणमा दैनिक ५०–६० बिरामी आउने गरेका थिए।
अहिले यो संख्या २०–२५ जनामा झरेको मैला स्वास्थ्य चौकीका अहेव मोतिलाल जैसीले बताए । उनका अनुसार गाउँमा औषधि अभाव देखिएको छ।
चिकित्सक टोली पुगेनन्
औषधि अभावले पिरोलिइरहेका बेला कर्णाली प्रदेश सरकारले प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सकको टोली पठाएको छ । उक्त टोली नेपालगन्ज, बाजुरा हुँदै जाने भएकाले प्रभावित क्षेत्रमा पुग्न तीन दिन लाग्नेछ।
प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सुर्खेतबाट हिँडेको टोली आइतबार नेपालगन्ज भएर सोमबारसम्म बाजुराको कोल्टी हुँदै ताजाकोट पुग्ने बताए।
यद्यपि संघीय सरकारको गृह मन्त्रालयसँग सम्पर्क गरी आइतबार नेपाली सेनाको हेलिकप्टरमा सुर्खेतबाट औषधि र चिकित्सकको टोली पठाउने तयारी भइरहेको उनले बताए।
‘हामीले गृह मन्त्रालयसँग प्रक्रियागत रूपमा कुरा गरी हेलिकप्टर माग गरिसकेका छौं,’ उनले भने, ‘सम्भवतः भोलि (आइतबार) नै औषधि र चिकित्सकको टोली प्रभावित गाउँमा पुग्नेछ।’ चिकित्सकको टोली गाउँमा पुगेपछि मात्र वास्तविक समस्या के हो भन्नेबारे पत्ता लाग्ने उनले बताए।
बेखबर स्थानीय सरकार
मौसमी रुघाखोकीको प्रकोप फैलिएको करिब ३ साता बित्यो । स्थानीय सरकार भने बेखबर छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जिल्लाबाहिर छन्।
अध्यक्ष मल्ल र उपाध्यक्ष मञ्जु बुढा काठमाडौं हिँडेका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए । उनी स्वयं पनि अहिले सुर्खेत छन्। ‘नयाँ आर्थिक वर्षको बजेट आउने बेला भयो, कतै योजना पार्न सकिन्छ कि भनेर दुवै जना काठमाडौं जानुभएको छ,’ शाहीले भने, ‘म पनि कार्यालयको कामकै लागि यहाँ (सुर्खेत’ आएको छु, अज्ञात रोगले मान्छे मरेको कुरा यहीँ आएर सुनेको हुँ।’
सदरमुकामबाट एकतर्फी ४ दिन पैदल टाढाको प्रभावित क्षेत्रमा सहज रूपमा स्वास्थ्यकर्मी र औषधि पठाउन समस्या भएको छ। स्थानीय सरकारले प्रकोपबारे समयमै चनाखो भई सचेतना अपनाएको भए यस्तो अवस्था नआउने स्थानीय स्वास्थ्यकर्मी बताउँछन्।