बैशाख ३१,काठमाडौँ । खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपाल खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको र त्यसपछि पूर्ण सरसफाइको प्रस्थान बिन्दुमा प्रवेश गर्ने बताएका छन । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ र वास मिडिया फोरमको संयुक्त आयोजनामा भएको ‘सरसफाइ अभियानमा सञ्चार माध्यम’ बिषयक अन्तरक्रिया कार्यक्रममा सचिव शर्माले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सबैले अन्तिम धक्का दिनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सचिव शर्माले भने ‘देशकै राजधानी काठमाडौलाई पनि खुला दिसामुक्त घोषणा गर्न बाँकी छ, अरु जिल्ला ओडिएफ हुँदा पनि काठमाडौ हुन सकेन भने यो राष्ट्रकै लागि लज्जाको बिषय बन्छ, त्यसैले हामी सबै यो अभियानमा एकजुट भएर लागौं ।’
उनले तराईमा बनेका शौचालय मध्ये ६० देखि ७० प्रतिशत शौचालयहरु प्रयोगमा आएको दाबी गरे । विदेश गएका युवाले त्यहाँ देखेर, सिकेर आफ्नो घरमा पनि शौचालय बनाएर प्रयोग गर्न थालेको आफ्नो अध्ययनले देखाएको बताए ।
उनले खुला दिसामुक्त घोषणा भनेको दिसा छोप्ने काम मात्र भएकाले ढल व्यवस्थापन, चर्पीको प्रयोग, सुरक्षित खानेपानीको मात्र प्रयोग, खानेपानीको सुरक्षित भण्डारण, सुरक्षित खानेकुरा, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता तथा वातावरणीय सरसफाइका कुराहरु पूर्ण सरसफाइ अभियानले समेट्ने बताए ।
कार्यक्रमका सहभागीहरुले काठमाडौलाई खुला दिसामुक्त घोषणा गर्न काठमाडौ महानगरपालिकाले चर्पी बनाउन बाँकी घरलाई चर्पी बनाउन लगाउनुपर्ने, सार्वजनिक स्थानमा शौचालय बनाउने कामलाई तीब्रता दिनुपर्ने, मिडियाले सरसफाइको बिषयलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताएका थिए ।
अन्तरक्रियामा खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले सरसफाइको अवस्था र चुनौतीका बिषयमा प्रस्तुत गरेका थिए । यस्तै नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेलले सरसफाइ र आमसञ्चार र काठमाडौ मेडिकल कलेजका प्राध्यापक डा. सुनिल कुमार जोशीले सरसफाइ र स्वास्थ्यका बिषयमा प्रस्तुत गरेका थिए ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र वास मिडिया फोरमले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता महासंघ अध्यक्ष राजेन्द्र अर्यालले गरेका थिए ।
सहकार्य-वासखबर