काठमाण्डौ महानगरभित्र प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोग प्रतिबन्ध

Post Thumbnail

मंसिर १२,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर आज मङ्गलवार निकालेको सूचनामा आउँदो २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ । सूचनाका अनुसार सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपराग लगायतका पदार्थ कसैले बिक्री गरेको पाएमा नगर प्रहरीले सामान जफतसमेत गर्नेछ ।

काठमाण्डौ महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० मा यससम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ ।

सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण पहिलो सर्त रहेको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले निकाल्नुभएको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस