साउन २६, काठमाडौं । चीनमा समुद्री आँधी लेकिमाका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । हालसम्म कम्तिमा २२ जनाको ज्यान गएको चीनको सरकारी समाचार संस्था सिनह्वाले जनाएको छ । यस्तै १० लाख भन्दा बढी मानिस बिस्थापित भएका छन् ।
आँधीका कारण गएको पहिरोमा परी मानिसहरुको ज्यान गएको सरकारी अधिकारीले बताएका छन्। अझै १० जना बेपत्ता रहेका छन् ।
ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाइको बिचमा पर्ने वेनलिङ्गमा आँधीका कारण शनिबार बिहानै पहिरो गएको थियो ।
सुरुमा लेकिमालाई सुपर टाइफुन भनिएको थियो, तर पहिरो जानु केही पूर्व मात्रै त्यसलाई केही कमजोर भिनएको थियो ।
लेकिमा हाल केही कमजोर भएको छ र हावाको गति पनि कम भएको छ । हाल यो उत्तर तर्फ हुँदै शेस्याङ्ग प्रान्त तर्फ अघि बढी रहेको छ । यो आँधी चाँडै शाङ्घाइ पुग्ने अनुमान छ । शाङ्घाइमा दुई करोड भन्दा बढी मानिसको बसोबास छ ।
आँधीका कारण एक हजार भन्दा बढी उडान रद्द गरिएका छन् भने रेल सेवा पनि प्रभावित भएको छ।