‘नवउदारवाद चिलीमा जन्मेको थियो र चिलीमै मर्नेछ’ …

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । एक सय ३६ स्टेसन र ६ वटा मार्ग भएको सान्टियागो मेट्रो दक्षिण अमेरिकाकै लागि नमुना सार्वजनिक यातायात सेवा हो।

थुप्रै दक्षिण अमेरिकी मुलुकमा यत्तिको भरपर्दो यातायात सेवा छैन। सान्टियागोको कुल जनसंख्या ७० लाख छ। जसमध्ये २७ लाख यात्रुलाई यो मेट्रोले दैनिक ओसार्छ। अक्टोबर पहिलो साता सरकारले ३.७ प्रतिशत, अर्थात् ३० पेसो (०.०४ अमेरिकी डलर) ले रेलभाडा बढायो। त्यसपछि युवाहरु प्रदर्शनमा उत्रिए। अक्टोबर १८ मा प्रदर्शनकारीहरुले ती ट्रेन र स्टेसनहरुमा आगजनी गरे। हाल सान्टियागो मेट्रोको एक मात्र रेलमार्ग सञ्चालनमा छ।

रेलको भाडावृद्धिका कारण सुरु भएको आन्दोलन अहिले राष्ट्रव्यापी बनेको छ। दशौँ लाख प्रदर्शनकारी सडकमा उत्रिएका छन् र आमूल आर्थिक तथा राजनीतिक सुधारको माग गरिरहेका छन्।

यो बीचमा अर्बपति राष्ट्रपति सेबास्टियन पिनेराले राजधानीसहित मुलुकका ५ सहरमा संकटकाल घोषणा गरे र सडकमा सैनिक र ट्यांक उतारे। आन्दोलनका क्रममा करिब २० जनाको ज्यान गइसकेको छ। ७ हजारभन्दा बढी गिरफ्तार भएका छन्।

‘हामी त्यस्तो शक्तिशाली शत्रुसँग युद्ध लडिरहेका छौँ, जसले कसैलाई पनि सम्मान गर्दैन,’ राष्ट्रपति पिनेराले भनेका छन्।

उनको सम्बोधनले चिलीबासीलाई तीन दशकअघिका तानाशाह अगस्टो पिनोसेको सम्झना गरायो। पिनेराले ‘शत्रु’ भनेकामध्ये १० लाख मानिस अघिल्लो शुक्रबार सडकमा उत्रिएका थिए।

चिलीलाई नवउदारवादको सफल प्रयोग मान्ने गरिन्छ। जहाँ समृद्धि र स्थायित्व दुवै विद्यमान रहेको पुँजीवादी खेमाका अर्थशास्त्रीहरुको दाबी छ। तर, आर्थिक नीति सफल भएको हो भने चिलीका जनता सडकमा किन उत्रिए त?

किनभने चिलीमा आएको समृद्धि आम मानिसको समृद्धि थिएन। सीमित व्यक्तिमा थुप्रिएको धनले चरम आर्थिक असमानता बढायो। जसको मूल्य अहिले चिलीले तिर्नुपरिरहेको छ।

उसो त ल्याटिन अमेरिकाकै अवस्था नाजुक छ। इक्वेडरमा भर्खरै आन्दोलनको आँधीबेहरी चलेको थियो। पेरुमा राष्ट्रपतिले संसद् विघटन गरेका छन्। बोलिभियाको चुनावी नतिजामाथि विपक्षीहरुले प्रश्न उठाइरहेका छन्। ब्राजिलमा दक्षिणपन्थी पपुलिस्ट र मेक्सिकोमा वामपन्थी पपुलिस्ट सत्तामा छन्। भेनेजुएला केही वर्षदेखि नै चरम संकटमा छ।

के समस्या छ चिलीमा ? 

चिलीका नागरिक सोच्छन्, देशको लोकतन्त्रले तिनको आवाज सुन्दैन, धनीमानीको पक्षमा मात्र काम गर्छ। आर्थिक र राजनीतिक अधिकार सीमित व्यक्तिमा केन्द्रिकृत छ। धनीहरु कर कम तिर्छन्। पेन्सन कम छ। सितिमिति आय हुनेहरु गतिलो घरमा बस्न सक्दैनन्। स्वास्थ्योपचार र औषधिको मूल्य उच्च छ।

नवउदारवादी अर्थव्यवस्थाले ठूलो जनसंख्याका लागि जीवनयापनको लागत बढाएको छ। पेन्सन प्रणालीलाई समेत निजीकरण गरेको छ।

१९८० र ९० को दशकमा चिलीको अर्थतन्त्रमा अवश्य पनि ठूलो सुधार आयो। तर, त्यसको नाफा सीमित व्यक्तिको पोल्टामा पर्‍यो। १९८७ देखि १९९८ सम्ममा चिलीको प्रतिव्यक्ति आय दोब्बर भयो तर कामदारको औसत ज्याला मात्र ५३ प्रतिशत बढ्यो। अझ वास्तविकतामा १९९८ मा कामदारको ज्याला १९७० को भन्दा ३० प्रतिशतले मात्र बढी थियो। सन् २००० मा मुलुकको समग्र आयको ५८ प्रतिशत धनी २० प्रतिशतको हातमा पुगेको थियो भने ४२ प्रतिशत सबैभन्दा धनी १० प्रतिशतको हातमा। अहिले राष्ट्रिय आयको ३३ प्रतिशत हिस्सा सबैभन्दा धनी एक प्रतिशतको हातमा पुग्छ। करिब २३ प्रतिशत आयको कर तिरिँदैन।

धनी २० प्रतिशतका लागि चिलीमा बस्न आनन्ददायी छ। महंगा आयातित कार, सस्तो कामदार, राम्रा निजी स्कुल, स्की र छुट्टी मनाउने सुन्दर समुद्री किनार। निजी स्कुलमा एक विद्यार्थीको शुल्क औसत कामदारको मासिक तलबभन्दा कता हो कता बढी छ। एक दिन स्की खेल्न तिर्नुपर्ने शुल्क जम्मा गर्न कामदारले चारदिन काम गर्नुपर्ने हुन्छ। कलेज शुल्क पनि विश्वकै सबैभन्दा बढीमध्ये पर्छ।

स्वास्थ्य बिमा गर्न एक मध्यमवर्गीय महिलाले मासिक करिब ३ सय डलर तिर्नुपर्छ। औषधि र अपरेसन शुल्क अलग्गै लाग्छ। पेन्सन लिनेहरुले बिमाको प्रिमियम तिर्नै नस्कने अवस्था छ।

आन्दोलन चर्किँदै गएपछि राष्ट्रपति पिनेराले क्याबिनेटका ८ मन्त्रीलाई पदमुक्त गरेपनि प्रदर्शनकारीमाथिको हिंसा कम भएको छैन।

तानाशाहीको बुटमुनिबाट उदाएको नवउदारवाद 

अमेरिकाको सहयोगमा सन् १९७३ मा चिलीमा सैन्य कू भयो। जसले चुनाव जितेर राष्ट्रपति बनेका माक्र्सवादी नेता साल्भाडोर एलेन्देलाई सत्ताच्यूत गर्‍यो। त्यसपछि अमेरिकी अर्थशास्त्रीको प्रत्यक्ष निगरानीमा चिलीको अर्थनीति तयार गरिन थाल्यो। कतिपयले यसलाई ‘साम्राज्यको वर्कसप’ समेत नामाकरण गरे।

‘सिकागो ब्वाइज’ भनेर चिनिने अमेरिकामा अध्ययन गरेर फर्केका अर्थशास्त्रीहरु चिलीको आर्थिक क्षेत्रका उपल्ला पदमा आसीन भए। तिनले युनिभर्सिटी अफ सिकागोमा मिल्टन फ्रायडम्यान र आर्नोल्ड हार्बर्गरसँग पढेका थिए। १९७० र ८० को दशकमा चिलीसहितका मुलुकमा तिनको हालिमुहाली थियो। तिनकै सल्लाहसुझावमा निजीकरणलाई प्रोत्साहन दिइयो। कामदारको अधिकार समाप्त पारियो। त्यसको विरोध गर्नेको दमन जरुरी थियो। त्यसैले पिनोसेको तानाशाहीमा कम्तीमा ३ हजार जनाको हत्या भयो। दशौँ हजारलाई यातना दिइयो भने २ लाखभन्दा बढीले देश छोडे।

अर्थतन्त्र डामाडोल थियो। यद्यपि, निजीकरणको लाभ लिएको सीमित संख्यालाई भने यसबाट ठूलो फाइदा भयो। विदेशी लगानीकर्ता मोटाए। १९९१ मा वाशिंगटन पोस्टले चिलीलाई ‘आर्थिक चमत्कार’ र अरुका लागि ‘उदाहरण’ का रुपमा प्रस्तुत गर्‍यो।

‘पिनोसेको चिलीमा क्रुर तानाशाही र आर्थिक वृद्धि सँगसँगै अघि बढ्यो,’ सो पत्रिकाले लेखेको थियो।

१९९० मा पिनोसेको तानाशाही समाप्त भयो। तर, प्रहरी, सेना, अदालत, मिडियासहित राज्यका मुख्यमुख्य पदमा आफ्ना मान्छेलाई राख्न उनी सफल भए। नवउदारवादी आर्थिक प्रणाली र पिनोसेले बनाएको संविधान पनि कायम रह्यो। त्यसयता तीन वटा सरकार चुनाव जितेर सत्तामा आए। सँगसँगै सरकारले कतिसम्म दमन गर्न सक्छ भन्ने त्रास पनि जनतामा रहिरह्यो।

परिणामस्वरुप आर्थिक विकासका सूचकांकमा थुप्रै सुधार गरेपनि चिली विश्वकै सबैभन्दा आर्थिक असमानता भएका मुलुकमध्ये एक बन्यो।

हाल सहरी जनसंख्याको ३६ प्रतिशत चरम गरिबीमा बस्छन्। तिनलाई बिहानबेलुका हातमुख जोर्न धौधौ छ।

तर, यसबखत चिलीका नागरिकमा अचानक राज्यप्रतिको भय हटेको छ। त्यसैले त यो आन्दोलनको एउटा लोकप्रिय नारा भन्छ- यो ३० पेसोको होइन, ३० वर्षको कुरो हो।

पश्चिमा मूलधारका मिडियामा भने चिलीको आन्दोलनबारे अत्यन्त कम चर्चा गरिएको छ। विश्वका अन्य भागमा भएका आन्दोलनलाई ‘प्रदर्शन’ भनिरहेका कतिपय पत्रपत्रिकाले चिलीको आन्दोलनलाई ‘दंगा’, ‘उपद्रो’ जस्ता संज्ञा दिएका छन्। अशान्तिको कारण के भन्नेबारे पनि पश्चिमा सञ्चारमाध्यम चिलीको अर्थव्यवस्थामा रहेको कमजोरीलाई देखाउन सकिरहेका छैनन्। कतिपयले क्युबा र भेनेजुएलाका कारण आन्दोलन चर्किएको आरोप लगाएका छन्।

चिलीको आन्दोलनलाई नियालिरहेका नोम चोम्स्कीले भनेका छन्, ‘चिलीमा जे भइरहेछ, त्यसबाट म अलिकति पनि चकित परेको छैन। ती सबै जनतामाथि ४० वर्षसम्म भएको नवउदारवादी हमलाको स्वभाविक परिणाम हुन्।’

प्रदर्शनकारीहरु राष्ट्रपतिको राजीनामा मागिरहेका छन्। संविधानसभामार्फत नयाँ संविधान बनाइनुपर्ने उनीहरुको आवाज छ। त्यस्तै, हप्तामा ४० घण्टाको कार्यावधि, निजी पेन्सन प्रणालीको अन्त्य, नयाँ श्रम कानुन, सार्वजनिक शिक्षाको सशक्तिकरण, निशुल्क सार्वजनिक यातायातजस्ता माग उनीहरुले अघि सारेका छन्।

यो प्रदर्शनलाई धेरैले असफल नवउदारवादी आर्थिक नीतिविरुद्धको आक्रोशका रुपमा लिएका छन्। सन् १९७३ मा तानाशाह पिनोसेको बुटमुनि अमेरिकाले चिलीमा नवउदारवाद प्रवद्र्धन गरेको थियो।

नवउदारवादी अर्थव्यवस्था अपनाउने सुरुवाती मुलुकमध्ये एक थियो चिली। त्यसैले त प्रदर्शनकारीहरुबीच अहिले एउटा नारा चर्चित बनेको छ– ‘नवउदारवाद चिलीमा जन्मेको थियो र चिलीमै मर्नेछ।’ एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस