भाद्र ३१,काठमाडौँ । स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ । आज आइतवार भएको छ बुँदे सहमतिसँगै सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
आज दिनभर स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा हेटौँडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने सहमति भएको छ । सहमतिमा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई ऐनअनुसार कारबाही गर्ने उल्लेख छ ।
यस्तै ऐन कार्यान्वयनका लागि सरकारका सबै निकाय प्रतिबद्ध हुने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउने र मासिक रूपमा बैठक बस्ने तथा डाक्टरहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने क्रम कम गर्ने लगायतका काम गर्ने गरी तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने सहमति भएको छ ।
सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गराएपछि स्वास्थ्य मन्त्रालयले वार्ता टोली बनाएर संवाद थालेको थियो ।