भाद्र २८, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वीर अस्पतालका बारेमा आइरहेको नकारात्मक गुनासा र टिप्पणीहरु समाधान गर्ने गरी काम गर्न कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । आज (शुक्रबार) जलन उपचार केन्द्रको उद्घाटन गर्दै मन्त्री पौडेलले सेवाग्राही सन्तुष्ट हुने गरी अस्पताल प्रशासनले काम गर्नुपर्ने बताए ।
‘वीर अस्पतालमा केहि नभएको होइन, तर यसको महसुस आम नागरिक र मिडियाले गर्न सक्नुपर्छ । तर वीरमा के भइरहेको हो मैले बुझ्न सकेको छैन,’ उनले भने, ‘सेवाग्राहीले पनि वीरमा राम्रो उपचार सुविधा पाउने अवस्था भएको छ भनेर सन्तुष्ट हुने अवस्था छैन, बाहिर पनि वीरका बारेमा राम्रो सन्देश छैन । वीर अस्पताल साधन स्रोतविहीन अवस्थामा पनि छैन, जनशक्ति पनि सेवा दिन नसक्ने अपुग अवस्थामा पनि छैन, तर यसको सन्देश सकारात्मक ढंगबाट भइरहेको छैन ।’
उनले अस्पतालका काम पारदर्शी ढंगबाट हुनुपर्ने बताउँदै अब टिकट तथा पेमेन्टलाई अनलाइन प्रणालीमा लैजान निर्देशन दिए । सेवाग्राहीलाई यसले सहजता हुने उनको ठम्याई छ । कम्तीमा २० प्रतिशत सेवाग्राहीलाई अनलाईनबाट सेवा दिन सके भीड पनि कम हुने उनले बताए ।