जेठ ६, झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन् । हिजो मात्रै डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु छ भने अर्का एक गम्भीर घाइते भएकी छन् ।
पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी प्रहरीले जनएको छ ।
झापाबाट कञ्चनपुरसम्म र हुम्लाबाट धनुषासम्म चट्याङको उच्च जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेका जानकारी दिइन् ।
उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् । एक हजार ६०७ परिवार प्रभावित बनेका छन् ।
विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले जानकारी दिइन् ।
“घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्छन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन्,” उनले भनिन्, “चट्याङका घटना कोसी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन् ।”
चार वर्षमा कोशी प्रदेशमा चट्याङका २९५ वटा घटना हुँदा ३६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् । कोसीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ । ४२० वटा चौपाया मरेका छन् ।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा १८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ । तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ ।
लुम्बिनीमा २७६ परिवार चट्याङबाट प्रभावित, १६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, वाग्मती २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् ।
प्राधिकरणका अनुसार कर्णालीमा २०७, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, वाग्मतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।
नेपालमा विपद्का घटनाबाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।
सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले बताए ।