भाद्र ३१, काठमाण्डौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, सांसद तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको छ ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले आज (सोमबार) प्रतिनिधिसभामा पेश गरेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१’ ले विभिन्न सहकारीको रकम गैरकानूनी ढङ्गबाट गोर्खा मिडियामा ल्याउने काममा रवि लामिछानेको समेत संलग्नता देखिएकाले कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो ।
संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले आठ वटा सुझाव दिएको छ । स्रोतका अनुसार जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ ।
प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालीको खातामा आइसकेपछि रकम खर्च गर्ने÷गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’
सहकारी कानून विपरीत गोरखा मिडिया नेटवर्क प्रालीमा रकम प्रवाह गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिडेट पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिडेट बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिडेट काठमाण्डौ, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिडेट चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिडेट वीरगञ्जका सञ्चालक एवम् निर्णय प्रक्रियामा संलग्न सबैलाई कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गर्ने प्रतिवेदनमा उल्लेख छ ।