असोज ११, काठमाडौँ । काठमाडौंमा आजदेखि चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले शुभारम्भ गरे ।
प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर चाडपर्वलाई सुरक्षित बनाउन सकिनेमा जोड दिए । अभियानअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दूरीका चालकलाई सम्मान कार्यक्रम र ‘नो भ्वाइलेसन, नो पेनाल्टी’ लेखिएका स्टिकर टासेर कार्यक्रम सुरु गरिएको हो ।
त्यसअवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममतापूर्वक कारबाही गरिने बताए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरे ।