असोज १७, काठमाण्डौँ । राप्ती राजमार्ग बिहीबार बिहान १० बजेदेखि सुख्खा पहिरो खसेर अवरुद्ध भएको छ । सल्यान र दाङको सीमाना नजिकै साततलेमा पहिरो झरेपछि राप्ती राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि अहिले उक्त सडक खण्डमा आउजाउ गर्ने दर्जनौं गाडी र त्यसमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् । नजिकै घर भएकाहरू हिँडेर आउजाउ गर्न बाध्य भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि उपचारका लागि जिल्ला बाहिर लैजान थालेका केही बिरामी समस्यामा परेका छन् ।
बिहीबार बिहान १० बजेतिर सुख्खा पहिरो खसेको र अहिले जेसीभी प्रयोग गरेर हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । पहिरो ठूलो भएकाले अवरुद्ध राजमार्ग खुल्न एक घण्टा जति समय लाग्ने उनले जानकारी गराए । वर्षाका कारण कपुरकोटदेखि साततलेसम्म धेरै क्षति भएकाले राप्ती राजमार्ग आउजाउ गर्ने सबै यात्रुलाई उच्च सतर्कताका साथ आउजाउ गर्न उनले जिल्लावासीलाई आग्रह गरेका छन् ।