असाेज २९, काठमाडौं । अन्त-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकङ्ग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार भेटवार्ता भएको हो।
भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको थियो।
सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल(चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने बताएका थिए । दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको अध्यक्ष दाहालको भनाइ थियो ।