माघ ३, काठमाडौँ । दुई ठूला दल मिलेर गत असार ३० गते बनेको गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेका बेला नेपाली कांग्रेस मन्त्रीहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ ।
यस्तो छ ७ बुँदे निर्देशन
१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।
२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन सक्रियतासहित कार्य गर्ने ।
३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।
४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।
५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रित हुने ।
६) सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत् संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।
७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत् पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।