बैशाख, १६ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले हराएको छ ।
गएराति जयपुरमा सम्पन्न खेलमा १४ वर्षीय युवा ब्याटर वैभव राजवंशीले विस्फोटक ब्याटिङ गरेपछि गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले २५ बल बाँकी छँदै भेट्टायो ।
राजस्थानको जितमा वैभले ३८ बलमा १०१ रनको शतकीय इनिङ खेले । ३५ बलमा शतक पूरा गरेका उनले सात चौका र ११ छक्का प्रहार गरे । यो आईपीएलमा दोस्रो सबैभन्दा छिटो बनेको शतक हो ।
ओपनर यसश्वी जैसवालले ४० बलमा नौ चौका र दुई छक्कासहित ७० रनमा अविजित रहे । यस्तै, कप्तान रियान परागले १५ बलमा ३२ रन बनाए ।
गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०९ रनको योगफल बनायो ।
गुजरातका कप्तान शभमन गिलले ५० बलमा सर्वाधिक ८४ रन बनाए । साई सुदर्शनले ३० बलमा ३९ रन जोडे । यस्तै, जस बटलरले २६ बलमा ५० रन, वासिंटन सुन्दरले आठ बलमा १३ रन जोडे ।
राजस्थानका महिस थिक्षणाले दुई विकेट लिए भने जोफ्रा आर्चर र सन्दीप सिंहले एक विकेट लिए ।
जितसँगै १० खेल खेलेको राजस्थान ६ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । प्रतियोगितामा नौ खेल खेलेको गुजरात १२ अंकसहित तेस्रो स्थानमा छ ।
आज दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच राति पौने ८ बजे दिल्लीमा खेल हुनेछ ।