जेठ २१, काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको सम्झनामा २०६८ जेठ २१ गतेदेखि यो दिवस मनाउँन थालिएको हो ।
नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।
संविधानको यो मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ । तर समाजमा जातीय भेदभाव तथा छुवाछूत अझै पनि अन्त्य भएका छैन ।