असार १०, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् । युद्धविराम सम्झौता आगामी ६ घण्टा पछिबाट सुरु भएर १२ घण्टाभित्रै चरणबद्ध रूपमा कार्यान्वयनमा आउने ट्रम्पले बताएको छन् ।
“इजरायल र इरानबीच पूर्णरूपमा सहमति भएको छ । अबको लगभग ६ घण्टापछि इजरायल र इरानले आफ्ना अन्तिम मिसनहरू समाप्त गर्नेछन् र त्यसपछि १२ घण्टासम्म पूर्ण युद्धविराम हुनेछ । त्यस बिन्दुमा युद्ध समाप्त भएको मानिनेछ,” राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन् ।
इरान र इजरायल दुवैले आगामी युद्धविरामबारे कुनै टिप्पणी गरेका छैनन् । ट्रम्पको पोस्ट अनुसार, युद्धविराम आगामी २४ घण्टामा चरणबद्धरूपमा लागु हुनेछ ।
“आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२औँ घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ । २४औँ घण्टामा १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले स्वागत गर्नेछ । प्रत्येक युद्धविरामको समयमा, अर्को पक्ष शान्त र सम्मानजनक रहनेछ,” ट्रम्पले पोष्टमा भनेका छन् ।
ट्रम्पले सबै कुरा योजना अनुसार अघि बढ्ने विश्वासका व्यक्त गर्दै लेखेका छन्, ‘जुन निःसन्देह अघि बढ्नेछ । म दुवै देश इजरायल र इरानलाई यस्तो युद्ध अन्त्य गर्ने साहस, धैर्य र विवेकका लागि बधाई दिन चाहन्छु ।’
यो युद्ध वर्षौंसम्म तानिनसक्ने र पूरै मध्यपूर्वलाई विनाशतर्फ लैजान सक्ने भन्दै उनले लेखेका छन्, ‘तर त्यसो भएन, र अब कहिल्यै हुनेछैन।’
यसअघि इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेस अल उदेद एयर बेसमा मिसाइल आक्रमण गरेको थियो । इरानले सिरियाको अमेरिकी एयरबेसमा पनि आक्रमण गरेको हो । कतारले यो आक्रमणबाट कुनै हताहत नभएको बताएको छ ।