असार १८, काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज साँझ उज्वेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा श्रीलंकालाई ८–० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले दोस्रो जित दर्ता गरेको हो ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् । गिता रानाले दुई तथा निशा थोकर ,रेखा पौडेल र पूजा रानाले एक–एक गोल गरिन् । पहिलो हाफमै श्रीलंकाविरुद्ध ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ४ गोल थपेको हो ।
यसअघि भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो ।
यो जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने निश्चित भएको छ ।
आजै घरेलु टोली उज्वेकिस्तानले लाओससँग खेल्दैछ । यदी उज्वेकिस्तानले लाओसलाई हराएमा एसियन कप पुग्नका लागि नेपाल र उज्वेकिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ । आज हुने अर्को खेलको नतिजापछि अन्तिम खेलमा नेपाललाई कस्तो नतिजा चाहिने भन्ने टुङ्गो लाग्नेछ ।
समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।