चैत २५, काठमाडौँ । गत साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ ।
वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको एक टोली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
विभागका महानिर्देशक सरजु वैद्यले टोलीमा विभागका तीन, ईसिमोडका दुई र द स्मल अर्थ नेपालका एक गरी ६ मौसमविद् रहेको जानकारी दिँदै टोली स्थलगत अध्ययनबाट फर्केपछि ‘टोर्नाडो’का बारेमा आधिकारिक जानकारी सार्वजनिक गर्ने बताए ।
बुधबारदेखि घटनास्थलमा अध्ययन थालेको विभागका मौसमविद् डा अर्चना श्रेष्ठको नेतृत्वको टोली सम्भवतः सोमबार फर्किेनेछ । अध्ययन विवरण केलाएर एक साताभित्र प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने विभागको तयारी छ ।