सरकारको कार्यशैलीप्रति कांग्रेस सांसदहरू असन्तुष्ट

सरकारको कार्यशैलीप्रति कांग्रेस सांसदहरू असन्तुष्ट

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले असन्तुष्टी जनाएका हुन्

सांसदहरुले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको बताए । साथै उनीहरुले गभर्नरलगायतका विभिन्न नियुक्ति विनाकारण अड्काएर राखेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकमा सांसदहरूले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न भइरहेको ढिलाइप्रति गम्भीरताका साथ कुरा राखेको बताए । उनले प्राविधिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको जवाफ नेतृत्वले दिएको उल्लेख गरे ।

उनले गभर्नर एमालेले दिन नचाहेको भन्ने कुरा सत्य नभई प्राविधिक समस्याले ढिलाइ हुन गएको बताए । उनले अब चाँडै नै गभर्नर नियुक्त हुने बताए । संयुक्त सरकारमा कांग्रेसको पोजिशनबारे सांसदहरूले जिज्ञासा राखेको पनि उनले जानकारी दिए ।

प्रमुख सचेतक घिमिरेले सरकार परिवर्तन हुने हल्ला निराधार रहेको प्रस्टाए । उनले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको जिकिर गरे ।घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरुसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसंग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको दोहोर्याए ।

बैठकमा सांसदहरुले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए । बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रुपमा सन्तुलित वितरण लगायतका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ठूला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरु यथेष्ट सुनिएन कि भन्ने चिन्ता सांसदहरुको रहेको बताए । उहाले कतिपय नियुक्तिमा भइरहेको ढिलाईका विषयमा पनि सांसदहरुले चासो व्यक्त गरेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस