जेठ ३, काठमाडौं । भारत–पाकिस्तानबीचको तनावका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका बाँकी खेलहरु आजदेखि शुरू हुने भएको छ ।
परिमार्जित तालिकाअनुसार बेङ्गलुरुमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सले नेपाली समयअनुसार बेलुका पौने ८ बजे खेल्दैछन् ।
बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो र कोलकाता १२ खेलमा ११ अङ्कसहित छैटौं स्थानमा छ ।
गएको अप्रिल २२ तारिखमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि दुई देशबीच विवाद बढेसँगै मे ८ तारिखमा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पूरा नहुँदै रोकिएको थियो ।
गत हप्ता शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू गर्ने निर्णय भएको थियो ।
आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ ।