राष्ट्रपतिसमक्ष नेपाल सरकारको प्रतिवेदन प्रस्तुत्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २, सोमबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

बैशाख २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने उल्लेख छ ।

त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदमा पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखन्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानवअधिकारको संरक्षण र सम्वद्र्धन, राज्यका निर्देशक सिद्धान्तहरुको अनुशरण तथा राज्यका नीतिको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्न बनाउने राज्यको दायित्व हुनेछ । संविधानको धारा ५२ मा उल्लेख छ ।

निर्देशक सिद्धान्तमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखन्डता र स्वाधीनतालाई सर्वाेपरी राख्दै नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानुनको शासन, मौलिक हक तथा मानवअधिकारको मूल्य र मान्यतालगायतका विषयवस्तुको सुनिश्चितता गर्नु राज्यको उद्देश्य हुनेछ ।

राष्ट्रिय एकता र सुरक्षा, राजनीतिक तथा शासन व्यवस्था, सामाजिक र सांस्कृतिक रुपान्तरण, अर्थ, उद्योग र वाणिज्य, कृषि तथा भूमि सुधार, विकास, प्राकृतिक साधन स्रोतको संरक्षण सम्वद्र्धनसम्बन्धी नीतिलगायतका विषयवस्तु राज्यका नीतिमा पर्दछन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन भए/नभएको अनुगमन र मूल्यांकन गर्न संघीय संसदमा एक समिति रहनेछ ।

उक्त विषयमा लेखिएका कुनैपनि कुरा कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनैपनि अदालतमा प्रश्न उठाउन नपाइने पनि संविधानमा उल्लेख छ ।

समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल उपस्थित थिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस