बैशाख ४, काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ।
अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो।
‘ललिता निवासको जग्गासम्बन्धी उजुरी छानबिनका लागि अख्तियारले उहाँलाई नै अनुसन्धान अधिकृत तोकेको थियो,’ स्रोतले भन्यो, ‘उहाँका कतिपय क्रियाकलापबारे उजुरी आएपछि निगरानी बढाएका थियौं, केही क्रियाकलाप पदीय मर्यादा र आचारसंहिताविपरीतको पुष्टि भएपछि यहाँ राख्नु ठीक हुँदैन भनेर महान्यायाधिवक्ता कार्यालय फिर्ता गरिदिन आग्रह गरेका हौं, उहाँ फिर्ता जाँदै हुनुहुन्छ।’