‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २५, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख २५,काठमाडौँ । सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको कामलाई अघि बढाइएको जानकारी दिए। बुधबार संघीय संसद अर्थ समितिको बैठकमा बोल्दै उनले चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रिपरिषदबाट पारित गरिसकेको छ । अर्थमन्त्री खतिवडाले त्यस नियमावलीमा आयोजना लिने तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्ने व्यवस्था पनि गरिएको समितिलाई जानकारी गराए।

बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटै आयोजना वर्षौंसम्म पूरा नहुने अवस्थाको अन्त्य गर्न पनि सार्वजनिक खरिद ऐन संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले सार्वजनिक खरिद ऐन संशोधन गरी आयोजनाकोहरुको काममा तीव्रता दिन पनि सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य डा. बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे । पूर्व प्रधानमन्त्री र पूर्व अर्थमन्त्री समेत रहनु भएका भट्टराईले दिगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन पनि सरकारसँग आग्रह गरे।

बैठकमा अर्थ समितिले विभिन्न उपसमिति बनाएर देशका मुख्यमुख्य सहरमा अन्तरक्रिया गरी तयार पारेको बजेटसम्बन्धी सुझाव पनि अर्थमन्त्री खतिवडालाई बुझाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस