बैशाख २७, काठमाडौँ । सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ५० औं वैवाहिक वर्षगाँठ मनाएका छन् । पत्नी सीता दाहालसँग विवाह गरेका ५० वर्ष पुगेको उपलक्ष्यमा प्रचण्ड सीताले पुनः विवाह गरेका हुन् । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो ।
पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिताको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।
विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो । विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।