जेठ १,काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।
तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसको प्रमुख अतिथी बन्ने मौका पाएका प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरे ।
मन्च र दर्शकदीर्घामा पूर्वएमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै उनले आफू समय अनुसार चल्ने नेता भएको समेत प्रष्ट पारे । उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन तत्कालिन एमालेका नेता कार्यकर्तालाई आह्वान गरे ।
प्रचण्डले भने–माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो,उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।
केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।’
अध्यक्ष प्रचण्डले युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे ।
आफ्नै पार्टीको सरकारलाई दम्भ नदेखाउन बरिष्ठ नेता नेपालको चेतावनी
सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह गरेका छन् ।
अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको उनले बताए । नेता नेपालले भने, हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस् दुई तिहाई होइन ।’
उनले अहंकार छाड्न र जनताको मन जित्ने काम गर्न सुझाव समेत दिएका छन् । अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डो¥याउने उनको धारणा छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘हाम्रो काम र व्यवहारले जनताको मन जित्न सक्छ । जनताका पीर, मर्कामा सहयोगी भयौं, जनताको दुःख कष्टमा साथ दियौं र जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् ।’
‘जनताका समस्या के हुन् ? चाहना के हुन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु, हाम्रो बानी के भएको छ भने भन्ने धेरै बोल्ने। कम सुन्ने ।’
कम्युनिष्ट नेताहरुको आचरण र व्यवहार परीक्षणमा रहेको भन्दै वरिष्ठ नेता नेपालले युवा नेताहरुलाई सचेत समेत गराएका छन् ।
पार्टीको मुल विचारमा स्पष्ट हुने की ?
कार्यवाहक प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले एकीकृत पार्टीको मूल विचार स्पष्ट हुनुपर्ने भन्दै अहिलेको अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष प्रचण्ड सहितका बरिष्ठ नेताहरुतर्फ इंगित गर्दै पोखरेलले विचारमा स्पष्ट नभए कम्युनिस्ट पार्टी तासको घर जस्तै ढल्ने चेतावनी दिए । उनको संकेत नेकपाको वैचारिक अन्यौलप्रति थियो ।
पोखरेलले अब नेकपाभित्र सांगठानिक एकता सकिन लागेको भन्दै राजनीतिक कार्यदिशाका लागि पार्टीभित्र सार्थक बहस र छलफल हुनुपर्ने बताए ।