रसुवाबाट ठूलो परिमाणमा सुन बरामद, एक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ४, आईतबार (५ घण्टा अघि)
  • ४८ पटक पढिएको
रसुवाबाट ठूलो परिमाणमा सुन बरामद, एक पक्राउ

जेठ ४, काठमाडौं । रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । गोसाइकुण्ड गाउँपालिका-२ बाट भण्डै साढे सात किलो सुनसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीका अनुसार केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीबाट सुन बरामद गरेको हो । पक्राउ पर्ने सोही गाडीका चालक २४ वर्षीय किशोर भुजेल रहेका छन् । उनी पनि रसुवाकै हुन् ।

डीएसपी शाहीले भने, ‘अहिले बरामद भएको पहेँलो वस्तु साढे ७ किलोभन्दा बढी छ । सुन जोख्ने काम हुँदैछ । गोसाइकुण्ड गाउँपालिका वडा नं २ बाट सुन बरामद गरेको हो । घटनास्थलबाट प्रहरी टोली सदरमुकामतर्फ फर्किँदैछ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो छ ।नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस