जेठ ४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार आज शेयर बजार २.७९ अंक घटेर नेप्से परिसूचक २६०९.५ अंकमा झरेको छ । शेयर बजार अघिल्लो पाँच दिनदेखि लगातार घटेको हो ।
समग्र बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज ३ सय नौ धितोपत्रका १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता ७९ लाख ८९३ पटक किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैँयाको कारोबार भएको छ । गत बिहीबार दिन ७ अर्ब ८ करोडको कारोबार भएको भयो ।
आज नेप्सेका १३ उपसमूहमध्ये तीन उपसमूह मात्रै बढेको छ भने अन्य उपसमूहका सूचक घटेको छ । आज अन्य समूह सबैभन्दा धेरै ४.१९ प्रतिशत बढेको छ । माइक्रोफाइनान्स १.२२ र होटल तथा पर्यटन १.११ प्रतिशत बढ्यो ।
यस्तै व्यापार सबैभन्दा धेरै २.६८ प्रतिशतले घटेको छ । निर्जीवन बीमा ०.८८, उत्पादन ०.३४, जीवन बीमा ०.६७, लगानी ०.२७, हाइड्रोपावर १.३६, फाइनान्स ०.४७, विकास बैंक २.२२, बैंकिङ ०.१४ र मिचुअल फण्ड ०.२४ प्रतिशतले घटेको छ ।
घटेको बजारमा आज ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ९.५३, नेपाल पुनर्बीमाको ८.४१, बाराही हाइड्रोपावरको ७.३२, स्वाभिमान लघुवित्तको ६.९८, ओरियन्टल होटलको ६ प्रतिशत मूल्य बढ्यो ।
सबैभन्दा बढी घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक ८.७१, नेपाल माइक्रोइन्स्योरेन्सको ७.५३, ग्रिन डेभलपमेन्ट बैंकको ६.९४, क्रेस्ट माइक्रोइन्स्योरेन्सको ६.८६ र युनिभर्सल पावरको ६.१ प्रतिशत रहेका छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कक्पनीको सर्वाधिक ७० करोड ३७ लाख रुपैँयाको शेयर खरिद बिक्री भएको हो । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्सको पनि क्रमश उच्च कारोबार भएको छ ।