जेठ १९,विराटनगर । कोइराला निवासका सुरक्षाका लागि खटिएको सुरक्षा युनिटलाई सरकारले हटाएको छ ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको निवास सुरक्षाका लागि खटिएको सशत्र प्रहरीको टोली बिहीबारबाट हटेको हो ।
विस २०५४ सालयता प्रहरीको सानो टुकडी कोइराला निवासको सुरक्षाका लागि खटिएको थियो । तर बिहीबारबाट सुरक्षाकर्मीको टोली सरकारले हटाएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । सुरक्षाकर्मीको उपस्थिति नहुँदा ऐतिहासिक धरोहर मानिएको कोइराला निवास ‘असुरक्षित’ बनेको उनले बताए ।
कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर कोइराला परिवारमा अंशबण्डा हुने क्रममा डा. शेखर कोइरालाको भागमा परेको छ । पुरानो डिजाइनको घर पछिल्लो समय शेखरले विराटनगर आएका बेला प्रयोग गर्दै आएका छन् ।
व्यक्तिगत सम्पति भएपनि कोइराला निवास अवलोकनका लागि सर्बसाधरणलाई सधै खुला छ ।
सुरक्षाकर्मीको टोली र्फकदा डाक्टर शेखर विराटनगरमा नै थिए । बर्षौँ यता घरको सुरक्षाका लागि खटिएको टोली हटेपछि उनले आश्चार्य मानेको थिए । ‘सुरक्षाकर्मी हटाउने विषयमा डाक्टर कोइरालालाई पनि जानकारी गराइएन’ स्वकीय सचिव थपलियाले भने ‘सुरक्षाकर्मीहरुले पत्र आयो जान्छौं भनेर जानुभयो ।’
प्रजातान्त्रिक आन्दोलनदेखि विस २०६२–६३ को जनआन्दोलनलाई सफल बनाउन कोइराला निवासको भूमिका छ । देशका तीनजना प्रधानमन्त्री कोइराला निवासबाटै हुर्किएका हुन् । पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको निवासबाट मातृका, वीपी र गिरिजाप्रसाद विभिन्न समयमा नेपालको प्रधानमन्त्री बनेका थिए ।
नेपालको राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण योगदान पूर्याएको कोइराला निवासलाई संग्रालयको रुपमा विकास गर्नुपर्ने आवाज पनि बेलाबेला उठ्ने गरेको छ ।