जेठ ५, काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । साबिक विजेता बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउदै घरेलु टोली भारतले उपाधि जितेको हो ।
शनिबार अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउट मा पुगेको हो ।
पेनाल्टी सुटआउटमा भारतका मोहम्मद अर्बाश, रोहेन सिंह, ऋषि सिंह, जोड्रिक अब्रान्चेस र सिंगमायुम शमीले गोल गरे । बंगलादेशका मिठु चौधरी, मुर्सेद अली र जोय अहमदले गोल गरे । नजमुल फैसलको प्रहार आकासिएको थियो । उद्दिन साहेदको प्रहार भारतीय गोलकिपर सुजर सिंहले रोके ।
खेलको दोस्रो मिनेटमै भारतले सुरुआती अग्रता लिएको थियो । सिंगमायुम शामीले प्रहार गरेको फ्रिकक बल सिधै गोलमा परिणत भएको थियो । तर, ६१औं मिनेटमा जोय अहमेदले बराबरी गोल फर्काए ।
सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० तथा बङ्गलादेशले नेपाललाई २–१ ले पराजित गरेका थिए । भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो ।
भारतले यसअघि सन् २०१९ मा १८ वर्षमुनिको, २०२२ मा २० वर्षमुनिको र २०२३ मा १९ वर्षमुनिको च्याम्पियनशिपको उपाधि जितेको थियो ।