असार १, काठमाडौँ । श्रम स्वीकृति लिएर वैधानिक रूपमा नेपाली कामदार पठाउन खुला गरिएका ११० मुलुकमध्ये ९ देशमा मात्र श्रम सम्झौता भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि पहिलोपटक सन् २००५ मा कतारसँग श्रम सम्झौता गरेको थियो । त्यसको १४ वर्षपछि अहिलेसम्म जम्मा नौ वटा मुलुकसँग श्रम समझदारी एवं नवीकरण गरिएको छ ।
सरकारले वैदेशिक रोजगारका लागि नयाँ श्रम गन्तव्य प्रवद्र्धनका नाममा वार्षिक रूपमा विभिन्न कार्यक्रम र बजेट छुट्याउँदै केही मुलुकसँग मात्रै श्रम सम्झौता हुनु राम्रो नभएको सरोकारवालाले बताए ।
हालसम्म नेपालले बहराइन, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, जापान, दक्षिण कोरिया, जोर्डन, मौरिसस र इजरायलसँग मात्र श्रम सम्झौता गरेको छ । नेपालबाट सबैभन्दा धेरै कामदार जाने मलेसियासँग सरकारले गतवर्ष मात्र श्रम समझदारी गरेको हो । अझै साउदी अरब लगायत धेरै देशसँग श्रम सम्झौता हुन नसक्दा ती मुलुकमा पुग्ने कामदार सानो समस्यामा पनि अनेक सास्ती भोग्न बाध्य छन् ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका कामदारको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न रोजगारदाता मुलुकलाई उत्तरदायी बनाउन दुई देशबीचको श्रम सम्झौतालाई अनिवार्य मानिन्छ । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका करिब ४८ लाख कामदारमध्ये साढे १७ लाख मात्र श्रम सम्झौता भएका मुलुकमा कार्यरत छन् । अन्य कामदार श्रम समझदारी नभएका देशमा जोखिमपूर्ण रूपमा काम गर्न बाध्य छन् ।