असार ४,काठमाडौँ । नेपालमा उत्पादित मदिरा विदेश निर्यात फेरि खुल्ला गरिएको छ । सरकारले आयात तथा निर्यात हुने वस्तुहरुको सूचीमा हेरफेर गर्दै मदिरालाई खुला गरेको हो ।
दुई वर्ष अघिसम्म नेपालबाट मदिराजन्य वस्तु निर्यात गर्न पाइन्थ्यो । तर आर्थिक ऐनमा एकाएक परिवर्तन गरेर तत्कालिन सरकारले मदिरा निर्यातमा रोक लगाएको मदिरा व्यवसायी महासंघका उपाध्यक्ष नवलकिशोर चौधरी बताउँछन् । नेपालको व्यापार हितका लागि सरकारी निर्णय राम्रो भएको चौधरीको भनाई छ ।
नेपालमा हाल ७० देखि ७५ ब्रान्डका रक्सी उत्पादन हुन्छन् । त्यसमध्ये रुस्लान भोड्का, रोयल स्ट्याग, वल्र्ड दरबार, ८८४८, ब्लेन्डर्स प्राइड, एन्ठीकुइटी, हिमुवा, बिग मास्टर, डाँडाघरेलगायतका ब्रान्डहरू चर्चित छन् । नेपालमा कुल खपतको ८० देखि ८६ प्रतिशत रक्सी नेपालमै उत्पादन हुने गरेको व्यवसायीहरू बताउँछन् । गत आर्थिक वर्षमात्रै ३ अर्ब ३ करोड रुपैयाँको मदिरा नेपालमा आयात भएको भन्सारको विभागको तथ्याङ्कले देखाउँछ ।
सर्वसाधारणले पिउने बियरमा नेपाल आत्मनिर्भर रहेको बताइन्छ । रक्सीको कच्चा पदार्थ माल्ट उत्पादन गर्ने उद्योग खोल्न कठिन हुने भएकाले नेपाल मदिरामा आत्मनिर्भर हुन गाह्रो परेको व्यवयासीहरु बताउँछन् । नेपालमा अहिलेसम्म माल्ट उत्पादन नभएकाले आयात गर्नुपरिरहेको छ ।
इनर्जी ड्रिङ्स आयातमा रोक
मन्त्रिपरिषद्ले स्वीकृत गरेको व्यापार घाटा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुसार उद्योग वाणिज्य मन्त्रालयले निकासी पैठारी सूची परिमार्जन गरेको उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार आयात–निर्यातमा पूर्ण, आंशिक र परिमाणात्मक बन्देज लगाउने वस्तुसम्बन्धी व्यवस्थामा हेरफेर भएको हो ।
हेरफेरपछि क्याफिनयुक्त शक्तिबद्र्धक पेय र फ्लेभर्ड साइनेथिक पेय पदार्थ नेपालमा आयात गर्न पूर्ण बन्देज लागेको छ ।
भट्टराईका अनुसार लागुऔषध नियन्त्रण ऐन, २०३३ ले लागुपदार्थ भनी परिभाषित गरेका गाँजा, अफिमलगायतका वस्तु, औद्योगिक, मेसिनरी, पाटपूर्जा तथा कच्चा पदार्थ अन्तर्गत काँचो छाला नेपालबाट निकासी गर्न पूर्ण बन्देज लगाएको छ ।
झ्याउको निकासीका हकमा वनस्पति विभागको सिफारिसमा वन तथा भू–संरक्षण विभागले स्वीकृति दिए निकासी गर्न पाउने नयाँ व्यवस्था सरकारले गरेको छ ।
सरकारले चामलको परिमाणत्मक बन्देजलाई कायम राख्दै ‘हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने स्थानीय मौलिक प्रजातिका चामल सम्बन्धित निकायको सिफारिसमा निकासी गर्न परिमाणात्मक बन्देज नलाग्ने व्यवस्था थप गरेको छ ।
रहरलगायतका दालजन्य वस्तुको निर्यात पनि खुला गरिएको छ । बीस माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिट आयातमा बन्देज पनि संशोधन गरेर ३० माईक्रोन पुर्याइएको छ ।
यस्तै सरकारले विदेशबाट आउने हरियो तरकारीको क्वारेन्टाइन परीक्षण भन्सार बिन्दुमै अनिवार्य गर्ने, विदेशबाट आउने सामानको उपभोग्य म्याद ७५ प्रतिशत हुनै पर्ने व्यवस्था पनि गरेको छ । औषधि आयातमा भने औषधि व्यवस्था विभागको सफिरिस अनुसार हुने संशोधित सूचीत आदेशमा भनिएको छ ।