जेठ ५, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीमा यूएईविरुद्ध जितका लागि नेपालले १ सय १५ रनको लक्ष्य पाएको छ ।
थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनायो
यूएईका लागि ओपनर तथा कप्तान इसा ओजाले सर्वाधिक ३९ रन बनाईन् । तिथा सतिसले २१ रन, लावन्या केनी १२ र हिना होट्चान्दानीले २० रन थपिन् ।
नेपालका लागि मनीषा उपाध्यायले ४ विकेट लिइन् । उनले आफ्नो स्पेलमा मात्र २० रन दिइन् । कविता कुवँरले दुई विकेट तथा जमती ऐरीले एक विकेट लिइन् ।
यूएईविरुद्धको आजको खेल जितेमा नेपाल सिधै ग्लोबल छनोटमा पुग्नेछ भने यूएई प्रतियोगिताबाटै बाहिरिनेछ । एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन् । आइतबार भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो ।
दोस्रो खेलमा नेपाल मंगलबार थाइल्यान्डविरुद्ध भिड्नेछ ।