हुम्ला जिप दुर्घटना : महाकालीमा खसेको न त जिप भेटियो, न त कसैको शव नै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मंगलबार अपराह्न कर्णाली नदीमा खसेको जीप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनामा कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नंम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

मंगलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि जीप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो । स्थानीयवासीले जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन् ।

दुर्घटनामा पर्नुभएका उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । जीप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।

कुनिटारबाट दुर्घटनास्थलमा पुगेका शसस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य भए पनि भेट्टाउन मुस्किल रहेको जानकारी दिए ।

शोकमा हुम्ला

यही असार ३ गते मंगलबार जीप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ । कर्णाली नदीमा खसेको जीपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब एक हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस