प्रहरी मुठभेडमा विप्लबका जिल्ला इन्चार्ज मारिए ! को हुन पौडेल ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार ५,सर्लाही । प्रहरीको गोली लागेर प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मृत्यु भएको छ ।जिल्लाको बागमती नगरपालिका २ धरहरा घर भएका पौडेल बिहिवार दिउँसो लालबन्दी नगरपालिका वडा नम्वर १ र १० को सीमामा पर्ने चन्द्रपुर जङ्गलमा प्रहरी कारवाहीमा मारिएका हुन् । प्रहरीले दोहोरो भीडन्तमा उनी मारिएको र अन्य केही कार्यकर्ता भाग्न सफल भएको दावी गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर चोकबाट झण्डै तीन किलोमिटर उत्तरमा पर्ने घटनास्थल बाँसघारीमा रगत लतपतिएको भेटिएको छ ।

को हुन कुमार पौडेल ?

साविक सर्लाही ढुंग्रेखोला गाविस हाल बाग्मती नगरपालिका–२, धरहरा घर भएका ४७ वर्षीय कुमार पौडेल मावि स्तरको पढाइ सकेपछि २०५० सालतिर सर्लाहीको कालिञ्जोर गाविसमा प्रविधिक सहायकमा सरकारी सेवा प्रवेश गरेका थिए ।

उनी २०५२–५३ साल तिर त्यहाँबाट सरुवा भएर साविकको ढुंग्रेखोला गाविस घरनजिकै जागिर खान आइपुगे । सुरुका दिनमा नेपाली कांग्रेससँग नजिक रहेका उनी पछि नेकपा एमालेको युवा संगठनमा रहेर झण्डै ८ वर्ष काम गरे । त्यसपछि पौडेल २०६४ सालमा चुरेभावर पार्टीका जिल्ला अध्यक्ष बनेका थिए ।

चुरे भावर पार्टीभित्र विवाद हुन थालेपछि उनी पार्टी छोडेर २०६६ सालमा नेकपा माओवादीमा प्रवेश गरेका हुन् । उनलाई नेकपा माओवादीमा प्रवेश गराउन पूर्व प्रधानमन्त्री तथा तत्कालीन वरिष्ठ नेता बाबुराम भट्टराई र सचिव सीपी गजुरेल सर्लाही आइपुगेका थिए ।

उनले मओवादीमा रहेर झण्डै चार वर्ष काम गरे । त्यसपछि एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्य ‘किरण’ बीचको पार्टी फुटेपछि उनी वैद्यमा गएका थिए ।

दोस्रो संविधान सभाको चुनावमा वैद्य समूहमा रहेर उनले चुनाव बहिष्कारमा ठूलो भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी वैद्य र विप्लवबीचको पार्टी फुटेपछि विप्लव नेतृत्वको नेकपामा गएका थिए । २०७४ सालमा सिन्धुलीको कमाण्ड सम्हालेका पौडेल पछिल्लो समय सर्लाही इञ्चार्ज बनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस