असार ५,काठमाडौँ । कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन । सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद चौधरी काठमाण्डौको वीर अस्पताल भर्ना भएका हुन।
फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका भाइ मिठुलाल चौधरीले बताए ।
चौधरी केही समयदेखि अस्पतालमा नियमित जाँचका लागि जाने गरेका थिए । बिहीबार स्वाश फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको उनका भाईले बताए ।
चौधरीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएको उनले जानकारी दिए । पछिल्लो समय उनी जेल परेपछि उनको परिवारलाई आर्थिक समस्या समेत परेको बुझिएको छ । उनको परिवारले आर्थिक सहयोग गर्न समेत अपिल गरेका छन ।
२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उहाँ १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन विताइरहनु भएको छ । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।
गएको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।