अझै पनि धामी–झाँक्री ! अहिलेको समयमा पनि धामी–झाँक्रीको विश्वास गर्ने र ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ७, शनिबार (५ साल अघि)
  • ५२ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । अहिलेको समयमा पनि धामी–झाँक्रीको विश्वास गर्ने र ? यो कुरो धेरैले भनेको सुन्छौँ । भक्तपुर लोकन्थलीस्थित नयाँ बस्तीका चिकित्सक दम्पती पनि यस्तो सल्लाह अरूलाई दिने गर्छन् तर आफ्नै छोरीको उपचार गर्न यो दम्पती धामी–झाँक्रीकै साहरा लिन बाध्य हुनुप¥यो ।

थिमि सरस्वती खेलमा बस्दै आएका चिकित्सक दम्पती लामा गुरुकहाँ छोरीको उपचार गर्न पुगे । यो तथ्य अरूले पनि चाल पाए । यो दम्पती त प्रतिनिधि पात्र मात्र हुन्, नेपालको संस्कार, संस्कृति, शिक्षा र चेतनाको स्तरले अझै पनि बिरामी हुँदा धामी–झाँक्रीकहाँ पुग्ने परम्परा कायमै छ ।

कालो बोका, कालो पाठी, रातो भाले पूजा गर्नुपर्छ भनेर बिरामीलाई सल्लाह दिने धामी–झाँक्रीको सङ्ख्या त अनगिन्ती नै छन् । कतिपय तान्त्रिकले दोबाटोको कालो मसान लागेको रहेछ, बोका, भाले बलि दिनुपर्छ भन्छन् । यस क्षेत्रमा पर्याप्त विकृति, विसङ्गति भए पनि उपचारका लागि जानेको सङ्ख्यामा कमी आएको छैन ।

आधुनिक चिकित्सा सेवा निकै सहज र हरेक स्थानीय तहसम्म पुगे पनि चिकित्सकभन्दा पहिला धामी–झाँक्रीकहाँ जाने प्रचलन कायमै छ । हिमाल, पहाड, तराई–मधेस वा राजधानी काठमाडौँ हरेक ठाउँमा झारफुक गर्ने परम्परा छँदै छ । काठमाडौँका सडक पेटीमा होस् वा गल्ली–गल्लीमा महँगा कोठा भाडामा लिएर झारफुक गरेर राम्रो दाम कमाउने धेरै छन् । त्यति मात्र होइन, यही पेसामा लागेर आफू शक्तिशाली धामी बन्ने धुनमा धनुषा जिल्लाको ढल्केवरमा अढाइ वर्षका आर्यन साहको कथित धामी शत्रुद्यन महतोले हत्या गरेको घटना हालै सार्वजनिक भएको थियो । अहिले उनी जेलमा छन् ।

पाटन अस्पतालका मनोचिकित्सक डा. रवि शाक्यका विचारमा ‘जिउँदो हुनका लागि मान्छेले सिन्कोको सहरा पनि लिन्छ’ भनेझैँ रोगव्याधी लागेपछि धामी–झाँक्रीदेखि नाम चलेका चिकित्सकसम्म जाने चलन छ, त्यहाँ पुग्दा उनीहरूमा सकारात्मक प्रभाव पनि पर्छ । डा. शाक्य नेपालमा मात्र होइन, शतप्रतिशत साक्षर मुलुकमा पनि यस्ता परम्परा कायमै रहेको बताउनुहुन्छ । बाजे, बज्यै रिसाउलान्, अरूले पनि भनेका छन्, जाऊँ न त भनेर धेरै मानिस धामा–झाँक्रीकोमा पुग्ने गरेको भनाइ डा.( शाक्यको छ ।

चिकित्सकभन्दा महँगा

लाखौँ खर्च गरेर वर्षौ गहन अध्ययन र अभ्यास गरेका चिकित्सकभन्दा महँगा धामी–झाँक्री पनि छन् । चर्चित विशेषज्ञ चिकित्सकले भन्दा धामी–झाँक्रीले महँगो शुल्क लिने गरेको पाइन्छ । सामान्यतया एक सयदेखि दुई हजार पाँच सय रुपियाँसम्म शुल्क लिने गरेको पाइएको छ ।

थिमिको सरस्वती खेलमा रहेका लामा गुरुले कसैको उपचार गर्नुभन्दा पहिला ग्रन्थमा पाँच सय रुपियाँ राखेपछि मात्रै सोधीखोजी सुरु गर्छन । नागले दुःख दिएको छ, यसको उपचार गर्न दुई हजार पाँच सय लाग्छ, जन्तर बाँध्नुपर्छ, त्यसका लागि दुई हजार पाँच सय लाग्छ भन्ने गरेको जानकारी एक गृहिणीले दिनुभयो । बच्चा बिरामी भएर हैरान पारेको छ, सन्चो हुन्छ कि भनेर खर्च गर्नै प¥यो, उनी थप्छन ।

कतिपय धामी, झाँक्री र माताहरूमा विकृति रहेको स्वीकार गर्दै नेपाल झाँक्री सङ्घका अध्यक्ष चेतबहादुर थिङ (बोन्बो) भन्छन, “‘फु’ गर्दा निको हुन्छ भने बिनापैसा पनि गर्नुपर्छ, सेवाको भाव राखेर उपचार गर्नुपर्छ, कुनै भक्तले खुसी भएर दिन्छ भने स्वीकार गर्नु राम्रो हुन्छ । ”

विदेशीलाई पनि झाँक्री विद्या

काठमाडौँको थानकोटमा रहेको धामी–झाँक्री अनुसन्धान र विद्यालयले २२ वर्षदेखि यस विषयमा रुचि राख्ने नेपाली तथा विदेशीलाई प्रशिक्षण दिँदै आएको छ । सात पुस्तादेखि झाँक्री पेसा अपनाउँदै आएका मोहनलाल राई यसका संस्थापक हुनुहुन्छ । कम्तीमा एक हप्तादेखि दुई महिनासम्म यहाँ प्रशिक्षण दिइन्छ । अन्त्यमा उनीहरूलाई मसानघाटमा लगेर गुफा राखेर धामी–झाँक्री कलासम्बन्धी शिक्षा प्रदान गरिने जानकारी विद्यालयका कर्मचारी रोनित केसीले दिए । यस विद्यालयमा नेपाल, भुटानका साथै युरोपबाट अध्ययन गर्न आउँछन् । विदेशीलाई दोभाषेमार्फत झाँक्री विद्या सिकाइन्छ ।

मसानघाटमा झाँक्री नाच

स्वम्भूस्थित तामाङ समुदायको शव जलाउने चिहानघाटमा पाल टाँगेर बसेका १२ जना साधकले गुफा (प्रशिक्षण)मा झाँक्री विद्या सिकेका छन् । चियानघरको पश्चिमपट्टि रहेको खाली जग्गाको पालमुनि मयूरको प्वाँखको श्रीपेच, हातमा ढ्याङ्ग्रो, काँधमा थरी–थरीका माला र झाँक्री पोशाक लगाएका महिला तथा पुरुष झाँक्री गुरु चेतबहादुर थिङ (बोन्बो)सँग प्रशिक्षण लिँदै छन् ।

मसानघाटको १३ दिनको ध्यान र चिहानमाथि आगोमा नाचेर आफ्नो शक्ति देखाएर यी साधक घर फर्किएका छन् ।
ध्यानमा रहनेमा सञ्चारकर्मी, नेपाली सेनाका जवानदेखि कम्युनिस्ट पार्टीका कार्यकर्तासम्म छन् । अर्घाखाँची घर भई ड्रिम संसार अनलाइनमा कार्यरत दिलकुमार बिक, नेपाली सेनाका मानबहादुर तामाङ, कम्युनिस्ट कार्यकर्ता पुनम डङ्गोललगायत १२ जना रातदिन ध्यानमा छन् । प्रायः यी साधकहरू ठाउँ–कुन ठाउँ काम्ने व्यथाले छोएपछि उपचारका लागि यहाँ आएका हुन् ।

तामाङ भन्छन, “पहिला त मलाई विश्वास नै थिएन, जाँड खाएर काम्यो भनेर खिल्ली उडाउँथे, जाँड खाने बाटो बनायो भन्थेँ, पछि म आफैँ काम्न लागेँ, डिप्रेसनको औषधि पनि खाएँ तर भएन, २४सै घण्टा काम्न आएपछि ध्यानमा आएको हुँ, अब देउतालाई बोलाउन र नआउने बनाउन सक्ने भएँ । ”

यहाँ सिकाउने वा पढाउने होइन, ध्यानमा बसेपछि मेरो कुलले यसो गर, उसो गर भन्छ, अब कुललाई कसरी बोलाउने, विधिपूर्वक पूजा गर्ने, बिदा गर्नेजस्ता कुरा ध्यानबाट सिक्दै गरेको सञ्चारकर्मी बिकल बताउछन ।

प्रशिक्षण दिँदै आएका अध्यक्ष थिङ भन्छन, “शरीरमा दैवी शक्ति वा भगवान् आयो भने कसरी पूजा–पाठ गर्ने, बोलाउने, उपचार कसरी गर्ने भनेर ध्यान गराइएको हो । उनीहरूलाई चिहानघाटमा आगोमाथि नचाउँछौँ । आगोमाथि कसरी खेल्ने र नराम्रो आत्मासँग कसरी खेल्ने भनेर हरेक तरिका सिकाइन्छ । ”
“आगोमा उफ्रनका लागि तिम्रो शरीरमा दैवी शक्ति छ भने आगोमा उफ्र भन्छौँ, नभए पर्दैन भन्छौँ । आगोसँग नाचेपछि आत्मासँग कुरा गर्न सकिन्छ । शरीरमा दैवी शक्ति छ भने आगो धुलो हुँदासम्म नै नाच्न सकिन्छ । रातिको समयमा आगोमा नाच्ने गरिन्छ”, अध्यक्ष थिङले भने ।

तातो पानी हालेर मान्छे खुइलिएको हुन्छ, त्यसरी पनि उपचार हुन्छ त भन्ने प्रश्नमा अध्यक्ष थिङले कतिपय धामी–झाँक्रीले रक्सी खाएर तातो पानी हालिदिन्छन्, उसले जगाएको ज्ञानगुनको कुरा बिर्सिन्छ, बिर्सेपछि मान्छे जल्ने गरेको बताए । मानिसमा लागल (लागू) छ कि छैन भनेर झाँक्रीले हातको नसा छामेर पत्ता लगाउन सक्नुपर्छ । बिरामीको दुई प्रकारले उपचार हुन्छ । एउटा रोग लागेको अवस्थामा औषधि खुवाएर, अर्को भूतप्रेत लागेको भए दैवी शक्तिको प्रयोग गरेर ।

आधुनिक समाजमा भूतप्रेत सबै अन्धविश्वास भनिन्छ तर उनि अझै पनि भूतप्रेत हुने बताउछन । कुनै मान्छे झुण्डिएर मरेको हुन्छ, मरेको बेलामा पशुले छोएर पनि त्यो आत्मा भड्किएको हुन्छ, माथि जान सकेको छैन भने भूतप्रेत भएर बस्ने गर्छ भन्ने उहाँको दाबी छ ।

उपचार शक्तिले गर्ने हो

बोक्सी हो भनेर दिसापिसाब खुवाउने, कुटपिट गर्ने र कानुनलाई चुनौती दिने काम पनि धामी–झाँक्रीबाट हुने गरेको समाचार बेला–बेलामा आइरहन्छन् । सङ्घका अध्यक्ष थिङका विचारमा तान्त्रिक वा झाँक्री पनि सबै एकै खालका हुँदैनन्, कतिपयबाट कमजोरी हुन्छ ।

धामी, झाँक्री र माताहरूलाई अध्यक्ष थिङ भन्नुहुन्छ, “तपाईंले कुटेर–पिटेर उपचार नगर्नुस्, दैवी शक्ति तपाईंको शरीरमा छ भने त्यसले तानेर उपचार गर्नुहोस्, कुटेर पिटेर उपचार हुने भए त घरमै कुटेर उपचार गरे भइहाल्यो नि १ कतिपय ठाउँमा महिलाको चुल्ठो समाएर उचालेर यातना दिएर उपचार गर्छन्, त्यसलाई न्यूनीकरण गर्नैपर्छ, उपचार शक्तिले गर्ने हो, हातले कुटेर होइन । ”

हुङ्ग्रा–मुङ्ग्राले मसान भगाऊ

अध्यक्षको भनाइ छ, “बलि दिएको राम्रो होइन, कालो मसान वा वीर आयो भनेर बलि दिँदा बिरामी निको हुन्छ तर केही समयपछि फेरि त्यो बल्झिन्छ किनभने त्यो मसानले खान पायो, ऊ पल्क्यो । खान पाएन भने फेरि दुःख दिन्छ । बरु तान्त्रिकले ज्ञानगुनले लखेट्न सक्यो भने फेरि फर्केर आउँदैन । त्यसपछि त्यहाँ गयो भने हुङ्ग्रा–मुङ्ग्रा लगाएर लखेट्यो भने मसान फर्केर आउँदैन । ”

धामी–झाँक्रीका अनेक रूप

आफ्नो शरीरमा दैवी शक्ति चढेर आउने झाँक्री हुन् भने सिकेर बन्नेलाई धामी भनिन्छ । धामीहरू मन्दिरहरूमा प्रायः भेटिन्छन्, मेरो भाकल छ, घर परिवारको रक्षा होस् भनेर पूजा गरिदेऊ भन्छन् । त्यस्तै, बल र शक्ति माग्छन् । त्यसरी पूजा गर्नेलाई पुजारी भन्ने गरिन्छ । झाँक्री–धामी सबै समुदायमा पर्छन् । क्षेत्री नै झाँक्री भए पनि तामाङ वा लामाको ठूलो घरमा गएर पनि ढ्याङ्ग्रो ठोकेर घरमा शान्ति गर्ने र बाँध्ने काम हुन्छ ।
वन झाँक्री र झाँक्रीमा केही फरक छ । वन झाँक्री भनेको चाहिँ सानो उमेरमा छ वा तीन महिनासम्म ध्यान गराएर ल्याएको हुन्छ, कतिपय जिजु बराजुबाटै उत्रँदै आएका हुन्छन् । भविष्यवाणी गर्ने कतिपय व्यक्ति जेलको चिसोमा छटपटाइरहेका पनि छन् । यसबारे राखिएको प्रश्नमा अध्यक्ष थिङको भनाइ छ, “भविष्यवाणी गर्ने भए २०७२ वैशाख १२ गते अघि वैज्ञानिक, धामी–झाँक्री, ज्योतिषी, माता कसैले किन नभनेको त ? भनेको भए धेरै नेपाली बाँच्ने थिए । दैवी शक्तिले भने पनि १०० मा २५ प्रतिशत मात्रै मिल्छ । शक्तिको प्रयोग सेवा भावले गर्नुपर्छ । ”

नीति निर्माण गर्दै सरकार

विद्यालयमा पढ्न जान पनि नपर्ने, प्रमाणपत्र पनि लिन नपर्ने, कखरा नपढेका धामी–झाँक्रीले पनि बिरामीको उपचार गर्दै आएका छन् । राज्य चाहिँ के गर्दैछ त ? महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले मन्त्रालयले धामी–झाँक्री, गुरु, पण्डित आदिलाई छाउपडी प्रथाजस्था समाजमा हुने विकृति, विसङ्गतिविरुद्ध जनचेतना जगाउनका लागि नीति निर्माणमा क्रियाशील रहेको जानकारी दिए ।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्लामा रहेका जनस्वास्थ्य कार्यालयले धामी–झाँक्रीको प्रभाव बढी रहेका स्थानमा सचेतना तालिम दिने गरेको छ । तालिम लिएका त्यस्ता व्यक्तिले झाडापखला लाग्दा नुन, चिनी र पानी खानेदेखि धामी–झाँक्रीले उपचार गर्न नसक्ने खालका रोगको उपचार गर्न स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरेका छन् ।

स्रोत-गोरखापत्र

ताजा अपडेट

खोजी गर्नुहोस