असार १०,काठमाडौँ । नेपालमा यस वर्षको मनसुन सुरु भइसकेको छ । यसैलाई मध्येनजगर गर्दै सरकारले विभिन्न किसिमका तयारी सुरु गरेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना सम्भावित जोखिम र त्यसले निम्त्याउने विपद व्यवस्थापन गर्न तयारी अवस्थामा रहेको बताइएको छ । यस बर्ष सरकारले पुर्व तयारी स्वरुप नै सबै संयन्त्रलाई हाई अलर्ट राखेको हो । सरकारले पहिरो पन्छाउन विभिन्न ठाँउमा हेभी ईक्युपमेन्ट राखेको छ । जसको लागी सडक विभागका १७५ हेभी इक्विपमेन्ट तयारी अवस्थामा छन ।
नेपाल प्रहरीको महाशाखा र प्रदेश प्रहरी कार्यालयमा रहेका डुंगा चलाउन सक्ने, पौडि खेल्न सक्ने जनशक्तिलाई २४ सै घण्टा तयारी अवस्थामा राखिने भएको छ । सशस्त्र प्रहरीले अहिलेसम्म १ हजार ४ सय २० जनाको जनशक्तिलाई विपद व्यवस्थापनका लागि तयार पारेको छ । देशका विभिन्न १० स्थानमा यी जनशक्ति तयारी अवस्थामा छन् । काठमाडौंभित्र दुई तथा सातै प्रदेश र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारमा यस्ता जनशक्ति खटाइएको छ ।
हेलिकोप्टर तैनाथ
नेपालमा सरकारी स्तरबाट हेलिकोप्टर सञ्चालन नेपाली सेनाले गर्दै आएको छ । मनसुन सक्रिय भएसँगै नेपाली सेनाका हेलिकोप्टर देशभर पुग्न सक्ने गरी विभिन्न तीन स्थानमा तैनाथ रहने भएका छन् ।
गृह मन्त्रालयले बनाएको मनसुन आपतकालीन कार्ययोजना ०७६ अनुसार पूर्वी नेपाल हेर्ने गरी इटहरी, मध्यनेपालका लागि काठमाडौ र पश्चिम नेपाल हेर्ने गरी सुर्खेतमा सेनाको हेलिकोप्टर तयारी अवस्था रहने भएको छ । प्रत्येक जिल्लामा सेनाको एक गुल्म आधारभूत उद्धार सामग्रीसहित स्ड्याण्डवाई अवस्थामा रहने गरी खटाइएको छ ।
सेनाको विपद् व्यवस्थापन गण काठमाडौंले पूर्वतर्फको प्रदेश हेर्ने तथा विपद् व्यवस्थापन गण चितवनले पश्चिमतर्फको जिम्मेवारी हेर्ने गरी जिम्मेवारी छुट्याइएको छ । यसअन्तर्गत हरेक प्रदेश हेर्ने गरी सेनाले आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने भएको छ ।
मनसुनको समयमा बाढी पहिरोबाट राजमार्गमा हुन सक्ने सम्भावित क्षति साथै राहत र उद्धार सूचारु गर्न अमेरिकाबाट आएका एस्क्रो व्रिज (तयारी पुल) र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन रीभराइन बोट (डुंगा) तयारी अवस्थामा राखिएका छन् । बाराको जीतपुर, चितवनको भरतपुर, बैरेनी, थानकोटको विज्रिङ महाशाखा र सुनकोशी नदीमा समेत यस्तो तयारी पुल राखिने भएको छ । रिभराइन बोट भने दियालो बंगला र मस्र्याङ्दी नदीमा तैनाथ गरिएको छ । यी पुल र बोट पनि नेपाली सेनाले नै संचालन गर्ने गरी तयारी गरिएको छ ।
नेपाली सेनासँग १२०, १३० र २५० मिटरका यस्ता तयारी पुल रहेका छन् । दूर्घटना भइहालेमा तत्काल उद्धारमा जुट्न सेनाले साना, हलुका र रबरका डुंगाहरु पनि तयारी अवस्थामा राखेको छ । कार्ययोजना अनुसार मोरङ, झापा, कोशीटप्पु, थलाहा, इटहरी, धनुषा, राजविराज, सर्लाही, रौटहत, हेटौडा, चितवन, दियालो बंगला, पोखरा, सुर्खेत, दाङ, बर्दिया, नेपालगन्ज, नवलपरासी, कैलाली, कंचनपुर, धनगढी, महाराजगन्ज, छाउनी, सुन्दरीजल, गोकर्णलगायत स्थानमा रहेका सेनाका गणहरुमा यस्ता उपकरण राखिएको र आवश्यक पर्नासाथ परिचालन हुने कार्ययोजनामा उल्लेख गरिएको छ ।