पाथिभरा हेलिकोप्टर दुर्घटना प्रतिवेदन : मुख्य कारण हिमाली आँधी,पाईलटलाई दवाव थिएन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १२, बिहिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असार १२,काठमाडौँ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई नै मूख्य कारण ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गर्‍यो । मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा दुर्घटनाको मूख्य कारण खराब मौसम मानिएको हो ।

‘त्यसदिन पाथिभरा क्षेत्रको मौसम राम्रो थिएन’,प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झनै बिग्रियो । त्यही बीचमा केही समय मौसम खुलेपछि यही मौकामा उडिहालौं, फेरी मौसम बिग्रन सक्छ भन्ने कुरा भयो, त्यसपछि पाइलटले हेलिकोप्टर उडाए । हेलिकोप्टर उडेको १ मिनेटभित्रै पुनः हिउँसहितको हिमाली आँधि आयो । हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको आँधिमा पर्दा पाइलटले सम्हाल्ने मेसो नै पाएनन् र हेलिकोप्टर दुर्घटनामा पर्‍यो । यस दुर्घटनालाई छानविन आयोगले ‘एक दूर्भाग्य’ भनेको छ ।

पाइलटलाई दवाव थिएन

मौसमबाहेक यस दुर्घटनामा मानवीय दवाव भने नदेखिएको मन्त्रालय स्रोतको भनाइ छ । टोलीलाई मौसमका कारण छिटो सुरक्षित स्थानमा फर्कने दवाव थियो, तर उच्चपदस्थ अधिकारी कसैबाट पनि पाइलटलाई जहाज उडाउन दवाव नदिइएको आयोगको निष्कर्ष छ ।

मौसम निरन्तर बिग्रेका कारण उड्न नसके पाथिभरामै बासबस्नु पर्ने अवस्था आउने भएकाले टोली दवावमा भने थियो ।

आयोगले यस छानविनमा प्रत्यक्षदर्शीलाई मूख्य आधार मानेको छ । किनकी हेलिकोप्टरमा अन्य प्राविधिक रेकर्ड हुँदैन जसका माध्यमबाट दुर्घटनाको कारण पत्ता लागोस । पाथीभराका पूजारी तथा स्थानीयबासीको बयान र त्यसलाई प्राविधिक रुपमा विश्लेषण गरी निष्कर्षमा पुगिएको आयोगको भनाई छ । दुर्घटना हुनुमा प्राविधिकतर्फ पनि कुनै कारण फेला परेन ।

आयोगले छानविनका क्रममा भने प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस