प्रधानमन्त्री भन्छन–’ईपीजी प्रतिवेदन छिट्टै बुझीन्छ’, प्रचण्ड भन्छन–’दायाँबायाँ ढल्कने होइन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १५, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध पुनरवलोकन गर्न बनेको प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन छिट्टै कार्यान्वयनमा जाने बताएका छन । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शनिबार आयोजित राष्ट्रिय विदेश नीति संवादमा उनले प्रतिवेदन दुवै सरकार प्रमुखले चाँडै बुझेर कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका हुन । “भारतसँगको सम्बन्ध पुनरवलोकन गर्न बनाएको ईपीजीको प्रतिवेदन बुझाउने वातावरण बनिरहेको देखेको छु । त्यसपछि कार्यान्वयनमा कसरी अघि बढाउने भन्ने चरणमा प्रवेश गर्नेछौँ”, उनले भने । उनले भारत र चीन दुवैसँग नेपालको सम्बन्ध सङ्लिएको उल्लेख गर्दै राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सार्वभौमिक समानताका आधारमा सम्बन्ध अघि बढाइएको बताए ।

उनले परराष्ट्र नीति विभाजित हुन नसक्ने बताए। “हाम्रो वैदेशिक सम्बन्ध र परराष्ट्र नीति साझा चासोको विषय हो । यस विषयमा सिङ्गो देश एउटै नीति र भाषामा बोल्नुपर्छ”, उनले स्पष्ट पारे ।

परराष्ट्र नीति राष्ट्रिय संवाद कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब देशमा राजनीतिक स्थिरता र स्थायित्वले स्थान लिएको अवस्थामा दृष्टिकोणमै भिन्नता हुनुपर्ने आवश्यकता नरहेको औँल्याए । “छिमेक नीतिका सम्बन्धमा हामीले थुप्रै कुरामा पुनरवलोकन गरेका छौंँ”, प्रधानमन्त्री ओलीले थपे, “हाम्रो छिमेक सम्बन्ध सत्य, न्याय र विश्व व्यवस्थामा आधारित हुनुपर्छ । हामी त्यतातर्फ नै केन्द्रित छौँ । हाम्रो मुख्य उद्देश्य नै सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने हो । ”

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र नीति घरेलु परराष्ट्र नीतिको विस्तारित रूप भएकाले समयअनुसार परराष्ट्र नीति सुधार गर्ने पहल भएको बताए ।

संवादले राष्ट्रिय, क्षेत्रीय, राजनीतिक नयाँ समीकरण, सूचना प्रविधिमा देखा परेका अवसर र चुनौतीका बारेमा छलफल गर्ने जानकारी उनले दिए । नेपालले बदलिँदो राष्ट्रिय तथा बाह्य सम्बन्धमा समयानुकूल विकास गर्न चाहेको उनले प्रस्ट्याए । “मूल उद्देश्य राष्ट्रिय हित संरक्षण र प्रवद्र्धन गर्ने नै हो”, उनले थपे, “मूलभूत विषय सार्वभौम समानता, पारस्परिक हितका आधारमा सम्झौता गर्ने स्पष्ट नीतिका कुरा पनि महत्वपुर्ण छन् । ”

हाल १६६ देशसँग नेपालको दौत्यसम्बन्ध छ । मन्त्री ज्ञवालीका अनुसार परराष्ट्र नीतिमा छिमेकीसँगको सम्बन्ध विस्तार, लगानीकर्तालाई आकर्षित गर्ने, आर्थिक साझेदारी र व्यापारिक लगानीलाई जोड दिने, दुईपक्षीय परामर्श संयन्त्रमा नियमित बैठक बस्ने, सार्क, बिम्स्टेकलगायत क्षेत्रसँग सहयोग जुटाउने व्यवस्था गरिएको छ ।

विश्वमा बुद्धको सन्देशमार्फत विश्वशान्तिको सन्देश पु¥याउन लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति नगरी विकास गर्ने, परराष्ट्र नीति सञ्चालनमा साझा दृष्टिकोण बनाउने, दुई अङ्कको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न राजनीतिक स्थिरता र एकतामा बल पु¥याउने, विश्वको ज्ञान, सीप देशका लागि प्रयोग गर्ने वातावरण बनाउने उद्देश्य परराष्ट्र नीतिले बोकेकोे छ ।

दायाँबायाँ ढल्कने होइन प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विदेश नीति कुनै देश पक्षधर नभई नेपाल पक्षधर हुने बताएका छन ।
राष्ट्रिय विदेश नीति संवादको समापनमा बोल्दै उनले कहिले दायाँ, कहिले बायाँ ढल्कने नभई राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर नीति अघि बढाउने बताए।

“अब हामी कतै ढल्कने होइन । दायाँबायाँ ढल्कने अवस्था अब छैन । हिजो यस्तो अवस्था हुँदा छिमेकीहरूले पनि कता ढल्केको भन्ने अवस्था थियो”, उनले भने, “अबको नेपालको विदेश नीति नेपाल पक्षधर विदेश नीति हो । ”

उनले विदेश नीतिले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने भएकाले यस्तो विषयमा देश विभाजित हुन नसक्ने र सबै साझा हुनुपर्ने बताए ।
शक्ति राष्ट्रहरूबीच नयाँ प्रतिस्पर्धा हुँदै गरेको र त्यसले विश्व कूटनीतिक व्यवस्थामा परिवर्तन ल्याउन सक्ने भन्दै उनले विकसित अवस्था अनुकूल विदेश नीति अघि बढाउनुपर्ने बताए ।

“विदेश नीतिका केही अपरिवर्तनीय आधारभूत पक्ष छन् तर केही गतिशील पक्ष हुन्छन् । विश्वमा आएका परिवर्तनले ती प्रभावित हुन्छन् । त्यसमा नेपाल तयार भएर अघि बढ्नुपर्छ”, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस