असार २०, काठमाडौँ । नेपाल ट्रस्ट र पूर्व युवराज्ञी प्रेरणाराज्यलक्ष्मी देवी सिंहको स्वामित्व विवादमा रहेको छाउनीस्थित १५ रोपनी एक आना जग्गासम्बन्धी मुद्दामा तेस्रोपटक सुनुवाइका लागि सर्वोच्च अदालतले अनुमति दिएको छ। सिंह पूर्वराजा ज्ञानेन्द्रकी छोरी हुन्।
यसअघि दुईपटक भएको फैसलामा पहिलोपटक सिंहले र दोस्रोपटक नेपाल ट्रष्टले जितेको थियो।
दोस्रोपटक २०७३ साल पुस २१ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले त्यसअघि रामकुमारप्रसाद शाह र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासबाट प्रेरणाको पक्षमा भएको फैसला उल्ट्याएको थियो।
सर्वोच्चको पछिल्लो फैसलाविरुद्ध गएको पुस ६ गते प्रेरणाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सुनुवाइ गर्दैै शुक्रबार प्रधानन्यायाधीश राणासहितको संवैधानिक इजलासले मुद्दासँग सम्बन्धी मिसिल झिकाउन आदेश दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
सर्वोच्चको शुक्रबारको आदेशसँग उक्त मुद्दामा तेस्रोपटक सुनुवाइका लागि बाटो खुला भएको हो। प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलाशमा वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खडका र हरिकृष्ण कार्की थिए।
सरकारले २०६७ साल कात्तिक ८ गते स्वर्गीय राजा वीरेन्द्रको परिवारको नाममा रहेको उक्त जग्गा नेपाल ट्रस्टको नाममा ल्याउने निर्णय गरेको थियो। प्रेरणा आफूले उक्त जग्गा दाइजो स्वरुप प्राप्त गरेकाले ट्रस्टको नाममा लैजाने सरकारको निर्णय बदर गराउन माग गर्दै सर्वोच्च पुगेकी थिइन्।