साउन १०, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।
उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म हुने उहाँको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ ।
भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ । उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एकचरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन् ।
‘दशैं अघि नै भारतका तर्फबाट उच्चस्तरिय भ्रमण हुने बलियो संकेत आएको छ, सुरक्षा निकायको उच्च स्रोतले भन्यो–‘कुनै कारणबस मोदीको भ्रमण भएन भने भारतीय राष्ट्रपतिको भ्रमण हुनसक्ने बुझेका छौ ।’